पाकिस्तानको वास्तविक लोकतन्त्र

प्रकाशित मिति: २ श्रावण २०७५, बुधबार ०८:१२

सम्पादक: samaweshinepal

Nepal Live

हरेक दुई सातामा एकपटक मैले विश्वविद्यालयमा उर्दू साहित्य पढाउने गरेको लाहोरबाट पन्जाब प्रान्तमा रहेको मेरो गाउँ ओकाराको यात्रा गर्छु। सहरका संवादहरु, राजनीतिक बहसहरु र पूर्वाधारहरु ३ घन्टाको यात्रापछि पुगिने गाउँमा हराउँछन्।

म यहीँ हुर्केको हुँ, जहाँ मेरा मातापिता अझै बस्नुहुन्छ। मेरो गाउँ र यस्तै चरम गरिबीमा रहेका अरु हजारौं गाउँका हजारौं पाकिस्तानीहरु कि त कृषि पेशाको भरमा जेनतेन गुजारा गरिरहेका छन् या त मजदुरीमा आश्रित छन्।

यो अर्को पाकिस्तान हो, जहाँ गैरसरकारी संस्थाहरुले कार्यालय राख्दैनन्। किनकि यहाँ वातानुकुलित बैठक कक्षहरु छैनन्। चुस्त अस्पतालहरु चलेका छैनन्। मध्यम र माथिल्लो मध्यम वर्गीय परिवारका डाक्टरहरु यहाँ काम गर्न आउन रुचाउँदैनन्। पिउनका लागि सफा पानी छैन। स्वास्थ्य र सरसफाई अभियन्ताहरु कहिल्यै आइपुग्दैनन्। र, ज्यादै थोरै विद्यालयहरु छन्, जो आफैं पनि गुणस्तरीय शिक्षामाथि खासै सरोकार राख्दैनन् किनकि हामीमध्ये धेरैलाई हाम्रो खेतबारी र मजदुरीको कामबाट फुर्सद हुँदैन।

हाम्रा गाउँहरु र साना सहरहरुमा राजनीतिक नेताहरु पनि छैनन्, छन् त दलाल र ठगहरु मात्रै। जसले संघीय राजनीतिज्ञहरु र उनीहरुका सैन्य संस्थापनलाई हाम्रो भोट बेच्छन्। यहाँ लोकतन्त्रको काम एउटै मात्र छ, यहाँका सामन्तीहरुको शक्ति जोगाइराख्नु अनि उनीहरु र उनीहरुका परिवारलाई पोस्नु।

दुर्गम पाकिस्तानका जनतासँग राजनीतिक दलहरुका सिध्दान्त र अभियानहरुको वजन नाप्ने सुविधा र फुर्सद दुवै छैन। आफूप्रति कसैले देखाउने मुस्कान वा सामन्तीहरुको तिरस्कारका आधारमा उनीहरुले कसलाई भोट दिने भन्ने निर्धारण हुन्छ। तीनै सामन्तीहरुले शक्ति सन्तुलन मिलाउन कसलाई रुचाउँछन् भन्नेमा दशौं हजार भोट कसलाई जान्छ भन्ने निर्भर हुन्छ।

टेलिभिजनका पत्रकार, अखबारका स्तम्भकार वा सहरका प्रभावशाली मानिसका लागि पाकिस्तानका यी गाउँहरुमा लोकतन्त्रको अभ्यास दृश्यमै आउँदैनन्, जसले एक कप कफीका लागि लाहोर, कराँची र इस्लामावादमा अमेरिकी मूल्य तिर्छन्।

आगामी २ हप्तामा हामी राष्ट्रिय निर्वाचनमा भोट हाल्नेछौं। चुनावी अभियानले मलाई २०१३ को चुनाव सम्झाउँछ। यहाँ एउटा विद्यालय छ, जहाँ छिमेकी गाउँदेखिका करिब १ हजार केटाकेटी पढ्छन्। मैले पनि यही विद्यालयमा पढेको हुँ।

विद्यालयसम्मको बाटो धूलाम्य र खाल्डाखुल्डीयुक्त छ। हरेक पटक पानी परेको बेला डुंगा खोजूँझैं हुन्छ। बच्चाहरु हिलोको नदी पार गरेर विद्यालय पुग्छन्। बाटो राम्रो बनाउन नसकिने होइन, तर मेरो नजिकका आफन्तहरुले स्थानीय राजनीतिमा ‘प्रभावशाली’ मानिनेहरुले भनेको नमानी चुनावमा अरुलाई नै भोट हालेका कारण यो बाटोको स्तरोन्नति गर्न दिइएन।

मैले दूर शिक्षाबाट मेरो उच्च शिक्षा पूरा गरें र करिब १५ वर्षसम्म डकर्मी काम र अरु टुक्रेमुक्रे काम गरें। सिमेन्ट र गिटी घोल्ने कामसँगै मैले अध्ययन जारी राखें र छोटा कथा र कविताहरु लेखिरहें। कालान्तरमा मलाई २०१० मा इस्लामावादको एउटा साहित्यिक संस्थाले नियुक्ति दियो र मेरो पहिलो कविता संग्रह पनि प्रकाशन गरिदियो।

प्रकाशित लेखकका रुपमा इस्लामावादमा मेरो नयाँ जीवनले नयाँ मानिसहरुसँग भेट गरायो। मैले चिनेका एकजना भर्खरका सरकारी अधिकारी मेरै जिल्लाका प्रमुख थिए। मैले तिनीसँग मेरो गाउँको विद्यालय जाने जीर्ण सडकबारे कुरा गरें र त्यसलाई ठिक पार्न सहयोग मागें। उनले गाउँ घुमेर हेरे र नयाँ कालोपत्रे सडक बनाउन निर्देशन पनि दिए। महिनौं बित्यो तर केही काम भएन।
म ती मेरा मित्रसँग फेरि भेट्न गएँ। तर, उनी आफैं निरीह थिए। मेरो गाउँका ति ‘प्रभावशाली’ चौधरी साहेबले पन्जाबका मुख्यमन्त्रीसँग कुरा गरेर आफ्नो अनुमतिबिना त्यो बाटो बन्न/नबनाउन आदेश दिन लगाएछन्। बच्चाहरु अझै पनि हिलाम्य सडकमा लड्दैपड्दै विद्यालय जान्छन्।

केही दिनअघि गाउँबाट बुवाको फोन आयो। चौधरी साहेब एकदिन हाम्रो घर अगाडि आएछन् र बुवासँग हात जोडेर परिवारको भोट मागेछन्। बुवाले ‘हामी के गरौं?’ भनेर मलाई सोध्नुभयो। मलाई थाहा छ, ती ठूलाबडाहरुले भनेजस्तै गरी उनीहरुलाई हामीले भोट नदिएसम्म हामीलाई तिनले सजिलो गरी बाँच्न दिने छैनन्। कुनै पनि राजनीतिक विचार वा नाराले बुवालाई सघाउने उपाय मलाई सुझेन। ‘बुवा, जे ठिक लाग्छ त्यही गर्नुहोस्’ बाहेक मैले केही भन्न सकिनँ।

मेरा छिमेकी गाउँका जान मोहम्मद नाम गरेका एकजना शिक्षकलाई म चिन्थें। केही वर्षअघि उनको मृत्यु भयो। उनले हाम्रा गाउँमा लोकतन्त्रले कसरी काम गर्छ भन्ने अर्को ठूलो पाठ सिकाए। एकदिन उनको गाउँका चौधरी साहेबकी आमाको मृत्यु भयो। संयोगले जान मोहम्मद त्योबेला बिरामी थिए र मलामी जान सकेनन्। चौधरी साहेबले ‘अपमानित’ महसुस गरेछन्। बदलामा चौधरी साहेबले केही फोन कलको भरमा जान मोहम्मदलाई टाढाको गाउँको विद्यालयमा सरुवा गराइदिएछन्।

केही महिनापछि २०१३ को चुनाव आयो। जान मोहम्मदलाई लाग्यो कि अब न्याय पाइन्छ। उनले चुनावमा चौधरी साहेबको विपक्षी पार्टीलाई सघाए तर दुर्भाग्य, जित चौधरी साहेबकै पार्टीको भयो। त्यसपछि त झन् चौधरी साहेबले स्थानीय सरकारलाई जान मोहम्मदको तलब ३ वर्षसम्म रोक्न लगाए। गाउँलेहरुले उनका लागि चौधरीसँग कुरा पनि गरे, क्षमा गर्न अनुनय-विनय गरे। तर, चौधरी मानेनन्। चौधरीको भनाइ थियो, ‘यदि मैले उसलाई माफ गरें भने अरुले विरोध गर्छन्। यो अरुका लागि पनि पाठ बनोस्।’ निराशा र गरिबीको चपेटामा परेका जान मोहम्मद नराम्रोसँग बिरामी परे र कहिल्यै निको नभई बिते। चौधरी साहेबको ‘दयालु’ मन, जान मोहम्मदको दुखद अन्त्येष्टिमा भने उनी पुगेछन्।

१० वर्षअघि म स्थानीय दुग्ध कम्पनीका लागि गाउँहरुबाट दूध खरिद गर्ने काम गर्थें। २००८ को आम निर्वाचन ताका म भारतीय सीमा नजिकको सिध्दार भन्ने गाउँमा थिएँ, जहाँ म दूध लिन पुगेको थिएँ। त्यहाँ मैले सरदार साहेब भनिने गाउँका मुखियालाई चिन्ने मौका पाएको थिएँ। उनको ठूलो गाई फार्म थियो र उनी पनि विधायकका लागि चुनाव लड्दै थिए।

सरदार साहेब आफ्नो घरको आँगनमा ठूलो कुर्सीमा बसेर आफ्ना सहयोगीहरुसँग कुरा गर्थे। उनले आफ्नो घरमा दुईवटा ठूलठूला ब्वाँसो पालेका थिए, जसलाई उनी आँगनको कुनामा बाँध्थे। एक दिन म सरदार साहेबको घरमा थिएँ। त्यहीबेला उनका सहयोगीले दुईजना गाउँलेलाई उनीसामु हाजिर गराए। सरदार साहेबले केहीबेर उनीहरुलाई हेरे र भने, ‘मैले सुनें कि तिमीहरु मेरो विरुध्दमा भोट हाल्दैछौ।’ गाउँले चुप थिए।

‘तिमीहरुले यी ब्वाँसो देखेका छौ नि होइन?’ सरदार साहेब कराए, ‘फुकाइदिउँ?’ गाउँलेहरुको सातो गयो, अनुहारको रङ उड्यो। उनीहरुले क्षमा मागे र सरदार साहेबलाई नै भोट हाल्ने वाचा गरे।

उनीहरु त्यहाँबाट हिँडेपछि मैले सरदार साहेबलाई गाउँलेले नमानेका भए उनीहरुमाथि साँच्चै ब्वाँसो लगाइदिनुहुन्थ्यो कि भनेर सोधें। जवाफमा सरदार साहेबले हाँस्दै भने, ‘जरुर लगाइदिन्थें। तर मार्नेगरी त छोड्ने थिइनँ।’

म छक्क परें र विमति राखें। तर उनले भने, ‘नातिक साहेब, तिमी राजनीति बुझ्दैनौ। म दशौं वर्षदेखि चुनाव लडिरहेको छु र जितिरहेको छु। यी ब्वाँसाहरु कामका छन्, तर मैले यिनीहरुको प्रयोग एकपटक मात्रै गरेको छु। गाउँलेमा रहेको डरले नै मेरो भोट सुरक्षित गर्छ।’

पाकिस्तानका गाउँका सबैभन्दा ठूला सामन्ती र जमिन्दारहरु भनेको सेना हुन्। उनीहरुको स्वामित्वमा रहेको जमिनमा दशौं हजार किसान अँधियामा खेती गर्छन् र सेनाले जसरी चाहन्छ त्यसैगरी किसानले भोट हाल्छन्।

ओकारा जिल्लाको प्रमुख कृषियोग्य जमिनमध्ये १७ हजार एकड जमिन सेनाले ओगटेको छ। ओकाराको सैनिक फार्महरुले करिब १ लाख ५० हजार गाउँलेको जीविका चलेको छ, जसमध्ये अधिकांस अँधियामा काम गर्छन्।

ओकारामा भूमिको अधिकार माग गरिरहेका कृषकहरुको समूहका एकजना नेता मेहर अब्दुस सत्तर मेरा साथी हुन्। २०१५ को अन्त्यतिर एक विधायक सदस्यले शैक्षिक प्रमाणपत्र नक्कली बनाएको प्रमाणित भएपछि उनको विधायक सदस्यता खारेज भयो। रिक्त पदका लागि उपनिर्वाचन भयो। मेहरले उम्मेदवारी दिने निर्णय गरे र किसानहरुको व्यापक समर्थन पनि पाए। मतदान सकिएपछि सेनाले मतपेटिका जफत गरे र त्यसको केही समयमै मेहर पराजित भएको परिणाम घोषणा भयो।

प्रहरीले मेहरविरुध्द ३० वटाभन्दा बढी अपराधका मुद्दा दर्ता गर्योे। २०१६ को अप्रिलमा उनी पक्राउ परे र २ वर्ष २ महिनापछि हिरासतमुक्त भए। ओकारामा अर्को चुनावमा उनको प्रभाव हुन नदिन उनलाई फेरि पक्राउ गरियो।

पाकिस्तानका गाउँहरुमा लोकतन्त्र डरलाग्दो व्यवसाय बनेको छ। निर्वाचनहरुले संघीय र राज्य सरकारहरु परिवर्तन गर्छन्, तर गाउँका सामन्ती शक्ति संरचनाहरु फेरिँदैनन्। नयाँ शासकहरुलाई ठूला सामन्तीहरुले आफ्नो प्रभावमा राख्छन् र गरिब गाउँलेमाथि अत्याचार गरिरहन्छन्।

२ श्रावण २०७५, बुधबार ०८:१२ मा प्रकाशित

अपडेट

बारामा मृत पुरुष को लाश बरामद

जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.३ सिसहनिया चोक देखी पुर्व तर्फ निर्माणाधिन कलैया...... पूरा पढ्नुहोस् »

आज चैती छठ पुजा धुम धामको साथ मनाइदै l

चैती छठ पूजा चैत्र महिनाको  शुक्ल पक्ष चतुर्थी देखि  सप्तमी तिथि सम्म चैती छठ पूजा मनाउने...... पूरा पढ्नुहोस् »

सिमरौनगढ़ रानीवास मर्मतको नाउँमा ठेकेदारको विनाशलीला !

भरत शाह- बिरगंज | सिमरौनगढ़ नगरपालिकाका पुरातात्विक सल्लाहकार श्री तारानंद मिश्रले...... पूरा पढ्नुहोस् »

बुटवलबाट पनि आजदेखि श्रम स्वीकृति दिन सुरु |

पुष १५, बुटवल (रासस) | सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर...... पूरा पढ्नुहोस् »

पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन...... पूरा पढ्नुहोस् »

पत्रकार महासंघको ठहर- मन्त्रीले ‘दशैं खर्च लिन आउनू’ भन्दै अपमान गरे

१९ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले संसदको विकास...... पूरा पढ्नुहोस् »

जे देखियो त्यो लेखियो ………

समाजिक अभियान्ता बृजेश्वर प्रसाद चौधरी आज दिन भर जिल्ला प्रहरी कार्यालयमा एक जनाको पिडाको...... पूरा पढ्नुहोस् »

वीरगंजको बौधीमाई नगवा पोखरीको सरसफाई ।

राजेन्द्र सिंह, ७ असोज, वीरगंज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा वीरगंज महानगरपालिका...... पूरा पढ्नुहोस् »

सिकारीयाद्धारा आफ्नो चरित्र हत्या गर्न खोजेको नायक कर्णको आरोप ।

राजेन्द सिंह, ६ असोज, वीरगंज । मैथली चलचित्रका नायक पियुष कर्णले आकाश सिकारीयाले आफ्नो चरित्र...... पूरा पढ्नुहोस् »

सवारी चालक र सरकारबीच ८ बुँदे सहमति, आन्दोलन फिर्ता

आश्विन ५, काठमाडौं  ।  मुलुकी अपराध संहिता २०७४ मा व्यवस्था भएको सवारी ज्यान मुद्दासम्बन्धी...... पूरा पढ्नुहोस् »